नरेन्द्र केस रुकुम
विकास निर्माणको दृष्टिले पछाडि पारिएको र भर्खरमात्र सडक सञ्जालमा जोडिएको रुकुमका प्रत्येक गाविसमा यातायात पुर्याउन जिल्लाव्यापी सडक निर्माण अभियान शुरू गरिएको छ।
जिल्लाव्यापी रूपमा एकैसाथ सडक निर्मार्ण कार्य शुरू भएकाले यसलाई जिल्लाबासीहरूले �सडक क्रान्ति� को संज्ञासमेत दिएका छन्। सरकारको केन्द्रीय योजना, जिल्ला विकास समिति, सम्बन्धित गाउँ विकास समितिहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको लगानीमा जिल्लाव्यापी रूपमा छुट्टाछुट्टै सडक निर्माण कार्य शुरू भएका छन्। दुइ वर्षघिसम्म यातायातका साधनलाई देख्नसमेत नपाउने स्थिति रहेको रुकुममा अहिले जिल्लाभरि १२ वटा डोजर र हजारौं जनता परिचालन भएर सडक निर्माण गरिरहेका छन् भने जमिनबाट डोजर लैजाने स्थिति नरहेका विकट गाविसहरूमा हेलिकोप्टरबाट डोजर लैजान थालिएको छ।
विकास निर्माणबाट पछाडि पारिएको पूर्वी रुकुममा भर्खरै मात्र हेलिकोप्टरबाट दुइवटा डोजर झारेर सडक निर्माण शुरू गरिएको छ। हेलिकोप्टरबाट लगिएको एउटा डोजर काँक्रीको खावाङ र अर्को डोजर तकसेराको तकमा झारिएको छ। डोजरसहित हेलिकोप्टरमा पुगेका शान्तिमन्त्री जनार्दन शर्मा �प्रभाकर� र एकीकृत नेकपा (माओवादी) रुकुमका सेक्रेटरी मार्सलसहितको टोलीले निर्माण शुरू भएको बाटोको अवस्थाबारे अध्ययन गरेको थियो।
ती डोजरहरू पुगेपछि पूर्वी रुकुममा अब एकैसाथ तीनवटा खण्डमा सडक निर्माण शुरू हुनेछ। सोअनुसार पुष्पलाल लोकमार्ग (मध्यपहाडी राजमार्ग) को रुकुमकोटदेखि लुकुम, काँक्री, बाग्लुङको निसी हुँदै बुर्तिवाङसम्मको खण्डमा सडक निर्माण शुरू हुनेछ।
सो खण्डमा आवश्यताअनुसार डोजर र कम्तीमा २० हजार जनता परिचालन गर्ने तयारी भएको एकीकृत नेकपा (माओवादी) विकास कार्यदल रुकुमका सदस्य गोप्यश्वर केसी (राकेश) ले जानकारी दिनुभयो। सो खण्डमा निर्माण तथा उपभोक्ता समिति गठन गरेर काम थालनी भइसकेको पनि उहाँले बताउनुभयो। उक्त खण्डको सडक निर्माणमा २ हजार वाईसीएल कार्यकर्ता खटाइएको वाईसीएल रुकुमका अध्यक्ष सुबोधराज शेपालीले जानकारी दिनुभयो। पुष्पलाल लोकमार्ग पूव झापादेखि पश्चिम दार्चुलासम्म जोड्ने पहाडी राजमार्ग हो।
त्यस्तै पूर्वी रुकुमका विभिन्न गाविसहरूलाई जोड्ने सडक निर्माण पनि शुरु भएको छ। काँक्रीदेखि तकसेरासम्म एउटा खण्ड र तकसेरादेखि हुकामसम्म अर्को खण्ड गरी दुइ खण्डमा सडक निर्माण शुरु भएको तकसेरा- काँक्री सडक निर्माण समितिका संयोजक निर्माण बुढाले जानकारी दिनुभयो। ती खण्डहरूमा पनि डोजर र १० हजारको हाराहारीमा दैनिक जनता परिचालन गर्ने तयारी भएको उहाँले बताउनुभयो।
पश्चिम रुकुममा भने कयौं योजना सम्पन्न भइसकेका छन् भने कति निर्माणाधीन अवस्थामा रहेका छन्। सोलावाङदेखि बालुवासम्म सडक पुर्याएको जीटीजेडले पुनः बालुवादेखि प्वाङसम्मको सडक निर्माण थालेको छ। त्यस्तै जिल्लाका आन्तरिक बाह्य योजना गरी अन्य ठाउँमा पनि सडक निर्माण जारी छ। सदरमुकाम खलंगादेखि मग्मासम्मको सडक निर्माण भर्खरै सम्पन्न भएको छ भने मग्गादेखि आठबीसकोटसम्मको सडक निर्माण पनि शुरु भएको छ।
त्यस्तै रिम्ना-आठबीसकोट, झुल्नेटा-चौरजहारी, खलंगा-चौरजहारीलगायतका योजनाहरूमा काम भइरहेको विकास कार्यदल सदस्य केसीले बताउनुभयो। झुल्नेटा-चौरजहारी सडकअर्न्तर्गत नुवाकोटडाँडासम्मको निर्माण कार्य सम्पन्न भएको छ भने केही दिनमै पूर्तिमकाँडा पुर्याउने तयारीका साथ काम भइरहेको छ। त्यस्तै खलंगा-चौरजहारी सडकअर्न्तर्गत बैरागीठाँटीदेखि शिम्लिसम्मको सडक निर्माण सम्पन्न भएको छ।
यी सबै सडक निर्माणका लागि जिल्ला विकास समितिको एउटा र अन्य भाडामा गरी १२ वटा डोजर र हजारौं जनता परिचालन गरिएको छ।
No comments:
Post a Comment