Wednesday, June 3, 2009

क्रान्ति र इतिहास उनेका विष्टमगरका तीन कृति



मनोज घर्तीमगर ( magarmanojg@gmail.com )

काँडै काँडाबीचमा फुलेको फूल निकै प्रिय हुन्छ। बगैचामा फूलेका फूलभन्दा सयौं गुणा प्रियतम। त्यहीं फूल भएर जन्मिएको छ एउटा प्रतिभा। र त्यो काँडैकाँडाबीचको एउटा यात्रा हो। कहिल्यै नथाक्ने यात्रा जसरी सानीभेरी निरन्तर बगिरहेकोछ। त्यो फूल त्यो यात्रा त्यहीं सानीभेरी आसपास काठमाडौंलाई निकै दुर्गम लाग्ने एउटा पहाडि जिल्ला रुकुम मुरु-१ धौलाबाङको मगर झुपडिमा २० को दशकमा जन्मिएको लोकन्द्र विष्टमगर अर्थात कामरेड "अभ्यास"। एउटा क्रान्तिकारी नेता विष्टमगर अहिलेका एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य। अनि पूर्व नेकपा माओवादीका पोलिटव्यूरो सदस्य। क्रान्तिकारी सिपाहीका निम्ति दुश्मनका जेल, नेल, हिरासत र यातना युद्धको ट्रेन्च हुन् रे! र त्यहाँ नयाँ विचार, प्रतिभा र क्षमताको जन्म हुन्छ र विकास। तिनै ट्रेन्चमा बितेका थिए विष्टमगरका सिङ्गै एक दशक। अस्तीसम्म कुशल राजनीतिज्ञ र सङ्गठकको परिचय बोक्नुभएका विष्टको परिचय अब अलिक थप्पिएको छ उहाँको लेख सङ्ग्रह, कविता सङ्ग्रह र गिति एल्वम् गरी तिनवटा विधाका छट्टाछुट्टै कृति प्रकाशित भएपछि। तीन विधाका तीन कृति प्रकाशनपछि विष्टमगरले लेखक, कवि र गित रचनाकारको व्यक्तिगत परिचय त उन्नु भयो नै नेपाली प्रगतिशिल साहित्यको यात्राले पनि गर्विलो यात्रु पाएको छ। र हाँसेको छ प्रगतिशिल लेखकहरु र साहित्यकारहरुको भिड। नेता लोकेन्द्र विष्टमगरका "नेपाली राजनीतिका समस्या र समाधान" (लेखहरुको सङ्ग्रह), "ओ मेरा लालीगुराँसहरु" (कविता सङ्ग्रह) र "देशको माया हुनेहरु" (गिती एल्वम्) मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय प्रकाशन विभागले प्रकाशित गरेको छ। संयोग माओवादीको नेतृत्वमा नेपाली मौलिकतामा अगाडि बढीरहेको नेपाली क्रान्तिको एउटा यात्रा एउटा मोड त्यो नेकपा माओवादी र नेकपा एकताकेन्द्र-मसालबीच एकता भएर एकिकृत नेकपा माओवादी बनेको दिन। हो त्यहीं दिन भयो स्रष्टा लोकेन्द्र विष्टमगरका कृतिहरुको विमोचन माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबाट। जे गर् यो जे भोग्यो जे देख्यो त्यहीं लेख्यो। सायद त्यसरी नै लेख्नुभयो होला स्रष्टाले यी कृतिहरु पनि। यो उहाँको झण्डै तीन दशकको राजनीतिक जीवनमा घटेका घटनाक्रमको सङ्ग्रह अर्थात साँक्षि हो। यी कृतिले एउटा क्रान्तिकारी राजनीतिज्ञको जीवन उनेको छ र बोलेको छ।

“नेपाली राजनीतिका समस्या र समाधान"

विष्टमगरको लेखहरुको सङ्ग्रह "नेपाली राजनीतिका समस्या र समाधान" साँच्चीकै लेखहरुको सङ्ग्रह बनेको छ। विभिन्न १०९ शिर्षकका लेखहरु उल्लेख छन् त्यहाँ। अत्यन्त सरल भाषा शब्दमा लेखिएको लेखहरु अखबारीय शैलीमा छन्। भनिन्छ वैचारिक लेखकहरुको भिडमा अखबारीय शैलीमा लेख्नेहरु कमै हुन्छन्। राजनीति त्यस्तो हो जसले समाजका हरेक क्षेत्रको नेतृत्व गरेको हुन्छ। स्रष्टाले यस कृतिमा राजनीतिलाई शिर्षबिन्दुमा राखेर त्यसभित्रका सबै अङ्गलाई समेट्नुभएको छ । "नेपाली राजनीतिका समस्या र समाधान" राजनीति, दर्शन, इतिहास, सैन्य, आर्थिक, साँस्कृतिक, सामाजिक राज्यका अङ्ग अनि राज्यसत्ताका व्यवस्थाका प्रकारहरु सबै पक्षको सङ्ग्रह बनेको छ। जुन राजनीतिको नेतृत्वमा रहेका छन्। अझ यसबाट राजनीतिले समाजका रहेक क्षेत्रलाई कसरी नेतृत्व गरेको हुन्छ भन्ने बुझ्न सिकाउँछ। यो एउटा वैचारिक लेखहरुको सङ्ग्रह "सच्चा इतिहासको सङ्ग्रह" पनि हो। बितेको एक दशको नेपाली राजनीतिक घटनाक्रममा देखिएका समस्या र समाधानका लागि भएका पहलुहरु केन्द्रविन्दुममा परे तापनि समग्र नेपाली इतिहासकै राजनीतिक समस्याहरु ुनेपाली राजनीतिका समस्या र समाधान"ले बोलेको छ। र समाधान हुन बाँकी समस्याहरुको उपायहरु पहिल्याउने कोसिस गरिएको छ। यी लेखहरु उहाँका छानिएका लेख हुन् भन्न पनि मिल्ला। २०६० साल यता लेखिएका लेखहरु उहाँका यसमा समावेश छन्। विष्टमगरको लेख सङ्ग्रहले राजनीतिका लागि वामेसर्दै गरेकाहरुलाई त एउटा मार्गदर्शनको भूमिका नै खेल्ने छ। त्यस अलावा राजनीतिमा खारिएका भनिएकाहरुलाई पनि महत्वपूर्ण शिक्षा बन्ने छ। तर लेख सङ्ग्रहमा लेखक आलाई कम लखक ठान्नुहुन्छ र बढी पाठक अनि सिकारु। "म आफुले आफुलाई कम लेखक ठान्छु। बरु पाठक र सिकारु विद्यार्थी ज्यादा।" लेखकले आफ्नो लेखकीयको पहिलो वाक्यांशमै भन्नुहुन्छ। विष्टमगर क्रान्तिको एउटा मोर्चा लेखन ठान्दै भन्नुहुन्छ "एउटा महत्वपूर्ण मोर्चा यो पक्का हो। जुन मोर्चा नलडेर सुखै छैन। लड्ने शैली फरक हुन सक्छ त्यो बेग्लै कुरो हो।" “नेपाली राजनीतिका समस्या र समाधान" मा नेकपा माओवादीका अध्यक्षकोतर्फबाट एकिकृत नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका मूलक मन्तव्य र एकिकृत नेकपा माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा अर्थमन्त्री डा।बाबुराम भट्टराईले समिक्षात्मक मन्तव्य लेख्नुभएको छ। अध्यक्ष प्रचण्ड स्रष्टा विष्टमगरको व्यक्तित्वलाई "वैचारिक निष्ठा राजनीतिक समर्पण एवम् त्याग र तपस्याको अटुट सृङ्खलाद्वारा सामान्यतः नेपाली क्रान्तिकारी आन्दोलन र विशेषतः नेकपा माओवादीमा प्रेरणाको स्रोत हुनुहुन्छ।" भन्नुहुन्छ। र कृतिलाई "नेपाली इतिहासमा अत्यन्त संक्रमणकालका विविध आयामहरु बुझ्ने ठूलो सहयोग पुग्नेछ।" अनि वरिष्ठ नेता तथा अर्थमन्त्री डा।बाबुराम भट्टराई कृतिलाई "विचार र शैलीको सुन्दर संयोजन" भन्नुहुन्छ। १०९ शिर्षक र ३५३ लामो पृष्ठमा प्रकाशित "नेपाली राजनीतिका समस्या र समाधान" लेखहरुको सङ्ग्रह मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय प्रकाशन विभागले प्रकाशित गरेको छ। "हामी उहाँको लेखहरुको सङ्ग्रह "नेपाली राजनीतिका समस्या र समाधान" प्रकाशित गर्न पाउँदा खुसी छौं।" प्रकाशन विभागका प्रमुख बालकृष्ण काउछामगर आफ्नो लखकीयमा भन्नुहुन्छ। १०९ शिर्षकको लेख सङ्ग्रह सबै पक्ष समेटिएको सङ्ग्रह हो। तर प्रकाशनका जिम्मा लिएकोले विभिन्न पक्षलाई विभिन्न खण्डमा विभाजन गरि दिएको भए पाठकहरुका लागि झनै सहज र सरल हुने निश्चितै थियो।

“ओ! मेरा सुन्दर लालीगुराँसहरु"

लेखहरुको सङ्ग्रहसँगै प्रकाशित भएको विष्टमगरको कविता सङ्ग्रह "ओ! मेरा सुन्दर लालीगाँसहरु" दोस्रो कविता सङ्ग्रह हो। विभिन्न ७३ वटा कविताहरुले सजिएको "ओ! मेरा लालीगुराँसहरु" भावनालाई पनि नछाडेर विचार बोलेको छ। क्रान्तिकारी आन्दोलनका लागि प्रशिक्षण होभन्दा अतियोक्ति नहोला। कवितामा जनयुद्ध सिङ्गै बोलेको छ। जनयुद्धको ऐतिहासिक घटनााक्रमहरु उनिएका छन्। यो जनयुद्धको इतिहास हो।

"युवतीका सिउँदोहरुमा सिन्दूर होईन

बारुद परिरहेछ

मानव जीवन र जगतभरि नै बारुद बारुद गन्हाईरहेछ!

बारुद बारुद गन्हाईरहेछ" (पृष्ठ ४८)

नयाँ संसार निर्माणका लागि सचेत अथक र अविचलित रुपमा आँधी-हुरीमा वर्गसमरमा दौड्दा-दौड्दै पौड्दा-पौड्दै र लड्दा-लड्दै आफ्नो अमूल्य जीवन नयाँ संसार नयाँ जीवन र नयाँ मूल्य-मान्यता निर्माण र स्थापनार्थ सगौरव समर्पण गर्नुहुने विश्वभरिका सम्पूर्ण ज्ञात-अज्ञात महान् वीर र अमर सहिदहरुप्रति समर्पण गरेर विष्टमगरले लेख्नुभएको कविता "ओ! मेरा सुन्दर लालीगुराँसहरु" नेकपा माओवादीका अध्यक्ष प्रचण्डको ओझिलो मन्तव्यले झनै विचार उत्तेजक बनाएको छ। कलालाई विचारले नेतृत्व गरेको छ। जसले कवितालाई सुन्दर बनाएको छ। वरिष्ठ माक्स्रवादी सौन्दर्यशास्त्री तथा ईच्छुक साँस्कृतिक प्रतिस्ठानका अध्यक्ष चैतन्यको समिक्षाले कविताको सार खिचेको छ। "क्रान्तिकारी आवादको उदात्त अभिव्याजना" शिर्षकमा चैतन्यले समिक्षात्मक भूमिकाले पूरै कविता पढें झैंको हुने। स्रष्टा विष्टमगरलाई लाग्दैन कविता- लेख कथा र उपन्यासजस्तो लेखिन्छ। "यो लेखिने नभएर रचिन्छ।" आफ्नो तर्फबाट भनेर लेखकीयमा उहाँ लेख्नुहुन्छ "रच्ने भनेको विचारको आत्मसँगै भाव रुप र कलाको शरीर र स्वरुपमा सिर्जना गर्नु हो।" १३० पृष्ठमा विभिन्न ७३ वटा कविताले सजिएको "ओ! मेरा सुन्दर लालीगुराँसहरु" अलमियाँ लोक वाङ्मय प्रतिस्ठान पोखराले प्रकाशनमा ल्याएको छ मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयोजनमा।

“देशको माया हुनेहरु"

निकै गाह्रो मानिन्छ लेख कविता र गीत संगसंगै लेख्न र रचना गर्न। तर नेता लोकेन्द्र विष्टमगरले लेखहरुको सङ्ग्रह कविता सङ्ग्रहसँगै गिति एल्वम् पनि प्रकाशमा ल्याउनुभयो। "देशको माया हुनहरु" उहाँको गिती एल्वम्। मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय प्रकाशन विभागले प्रकाशित गरेको "देशको माया हुनेहरु"मा विभिन्न ८ वटा गीत समावेश गरिएको छ। जसको संगितकार रहनुभएको छ धनु ज्ञाङ्लीमगर। अधिकांश मगरात साँस्कृतिक परिवारका कलाकारले स्वर दिएका छन्। "देशको माया हुनेहरु"मा बलराम समालमगरले, "त्यो पारी पाखामा धनु" ज्ञाङ्लीमगर र तृपणा पुनमगर (अरुणा)ले देशको लागि मित्र रैकामगर र मानी रोकामगर (जीवनशिला) र "सङ्घर्षको मैदानुमा" अरुणा माया पुनमगर, ललिता पुनमगर तीर्थराज रोकामगर र चन्द्रप्रकाश घर्तीमगरले स्वर दिनुभएको छ। "लालीगुराँस"मा अरुणाले, "उर्लेर आउँदैछ"मा चन्द्रप्रकाश घर्तीमगर र सरला पुनमगर, “रगतमा हुर्केका"मा धनु ज्ञाङ्लीमगर मालबहादुर बुढामगर (महेश) र तीर्थराज रोकामगर र "मलाई त्यहीं गीत"मा योगिता मोक्तानले स्वर दिनुभएको छ। त्यो रुकुमको पाखामा जन्मिएको लोकेन्द्र विष्टमगर "अभ्यास" अब कुशल राजनीतिज्ञ अर्थात नेतासँगै कुशल लेखक साहित्यकार पनि। नेपालको राजनीतिक इतिहासमा धेरै मान्छे नेता बन्छन् तर लेखक बन्न सक्दैनन्, सक्दैनन् बन्न साहित्यकार र गीतकार। धेरै लेखक साहित्यकार र गीतकार हुन्छन् तर तिनी नेता बन्न सक्दैनन्। यसलाई चिर्नुभएको छ विष्टमगरले। हुन त यी उहाँका पहिलो कृति भने होईनन्। २०६० सालमै विष्टमगरले "रगतको इतिहास" कविता सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ।

1: कृतिः नेपाली राजनीतिका समस्या र समाधान
लेखक: लोकेन्द्र विष्टमगर "अभ्यास"
प्रकाशक: मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय प्रकाशन विभाग

2: कृति: ओ! मेरा लालीगुराँसहरु
लेखक: लोकेन्द्र विष्टमगर "अभ्यास"
प्रकाशक: "अलमियाँ लोक वाङ्मय प्रतिस्ठान पोखरा

3: कृतिः देशको माया हुनेहरु
लेखकः लोकेन्द्र विष्टमगर "अभ्यास"
प्रकाशकः मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय प्रकाशन विभाग
साभारः मगरात

No comments: