Friday, November 6, 2009

रुकुम अब आर्थिक कायापलटको प्रतीक्षामा


श्रीरामसिंह बस्नेत
नेपालमा राजनीतिक कायापलट गराउन सफल सशस्त्र जनयुद्धमा अग्रणी भूमिका निर्वाह गरेको रुकुम जिल्ला अब आर्थिक कायापलटको व्यग्र प्रतीक्षामा रहेको छ । जनयुद्धको उद्गमस्थलका रूपमा राष्ट्रियदेखि अन्तरराष्ट्रिय क्षेत्रमा समेत चासोको स्थान बन्न पुगेका रुकुम र रोल्पा जिल्लाको नाम नेपालको राजनीतिक इतिहासमा अमिट बनेको छ तर यही रुकुम अझै पनि विकटतालगायत अनेकौं अप्ठ्याराहरू झेल्दै सुखद भविष्यको बाटो हेरेर बसेको छ । राजनीतिक चेतना र सक्रियताका दृष्टिले निकै अगाडि भए पनि विकासका दृष्टिले भने निकै पछाडि परेको जिल्लाको रूपमा रुकुमलाई लिन सकिन्छ । विकासको पूर्वाधार यातायात रुकुमसम्म पुगेपछि यहाँको जनजीवनमा केही परिवर्तन त आएको छ, तर अपेक्षा र आवश्यकताको दाँजोमा त्यो धैरै कम छ । 


दाङको तुलसीपुरदेखि सल्यान जिल्ला छिचोल्दै रुकुमको सदरमुकाम मुसिकोट खलङ्गासम्म मोटर चल्ने बाटो बनेको छ । तर पिच त परै जाओस् ग्राभेलसम्म पनि नभइदिँदा रुकुमको मोटर यात्रा निकै कष्टपूर्ण मात्र होइन जोखिमपूर्णसमेत बन्न पुगेको छ । बिहान ५ बजे तुलसीपुरबाट रुकुमका लागि छुट्ने पहिलो यात्रुबस साँझ ७ बजेतिर मात्र खलङ्गा पुग्दछ । करिब २०० किलो मिटर पूरा गर्न १४ घण्टा लाग्ने यो यात्रा स्थानीय बासिन्दाका लागि त हम्मे पर्दछ भने आगन्तुकको त सातो लिने नै भयो ।

यो बाटोको सबैभन्दा दिक्क लाग्दो पक्ष हो - धुलोको आतङ्क । पिच, ग्राभेल नगरिएको र ठाउँठाउँमा जमेका दुइ/तीन फीट गहिरो धुलो पन्छाउन कुनै उपाय नगरिएकाले यो बाटो कष्टप्रद बन्न गएको छ । बाटोमा धुलोले यात्रुहरूलाई पर्ने असुविधा त छँदैछ, त्यो भन्दा बढी बाटोको दायाँबायाँ घर भएका बासिन्दाको स्वास्थ्य र बाटोसँगैका खेतबारीका बोटबिरुवाहरूमा अत्यन्तै नकारात्मक असर परिरहेको स्पष्ट देखिन्छ । 


हरेक दिन बिहानदेखि बेलुकासम्म धुलोको बषर्ा खप्नु पर्ने भएकाले यो बाटो वरिपरिका बासिन्दाले नुहाउनु र लुगा धुनुको कुनै अर्थ नरहने उनीहरू बताउँछन् । बाटो बन्नु तर पिच वा ग्राभेल नहुनुको पीडा सल्यान र रुकुमका जनताले यसरी भोगिरहेका छन् । तुलसीपुरदेखि सल्यान सदरमुकाम खलङ्गासम्म पञ्चायतकालमै कच्ची मोटर बाटो बनेको तर त्यसपछि अहिलेसम्म बाटो सुधारका लागि कुनै काम नभएको भन्दै बरला सल्यानका होटल व्यवसायी श्याम भण्डारी गुनासो गर्दछन् ।


रुकुममा हवाई सेवा पनि उपलब्ध छ । नेपाल वायुसेवाको उडान तालिकाअनुसार हप्ताको तीन दिन नेपालगन्ज र दुइ दिन काठमाडौँ उडानको व्यवस्था छ । तर उडानको त्यति ठेगान नभएकाले पूरै भर पर्न सकिदैन । उडानको ठेगान नभएकाले हवाई टिकट वितरण व्यवस्था पनि यात्रुका लागि झन्झटिलो छ ।


सदरमुकाममा टड्कारो रूपमा देखिने अर्को विसङ्गती हो - अव्यवस्थित सहरीकरण । बस, ट्रक, टयाक्टर र क्षमतावान जिप आउन थालेपछि यहँा नयाँ भवन निर्माणको क्रम तीव्र गतिमा बढेको छ । तर व्यवस्थित र भविष्यका लागि नसोचिकनै निर्माण कार्य भइरहेकाले यसले विकासको नाममा विकृति भित्रयाइरहेको छ । मुसिकोट खलङ्गा धेरै साँघुरो भइसकेको छ, जसले गर्दा त्यहाँ काठमाडौँको जस्तो साँधुरा र फोहर गल्लीको जञ्जाल बढन गएको छ भने पहाडी भेगका घर पनि काठमाडाँैका असन इन्द्रचोकको जस्तो घामसमेत नछिर्ने हुन पुगेका छन् । सबै निर्माण खलङ्गामा मात्र केन्द्रित हुनु तर फराकिलो सल्लेलगायतका अन्य फाँटतिर योजनाबद्ध निर्माण विस्तार नहुँदा रुकुम सदरमुकाम ज्यादै साँघुरिँदै गएको छ ।


विकासको कुरा गर्दा शिक्षा अग्रपँक्तिमा आउँछ । रुकुम नपुगेका मानिसहरूले रुकुमलाई शिक्षामा जति पछाडि होला भन्ने सोच्दछन् वास्तविकतामा त्यति पछाडि छैन । यहाँ स्नातक तहसम्मको अध्ययन अवसर प्राप्त छ । राजविराज घर भई विगत १६ वर्षेखि विकट रुकुममा शिक्षा फैलाउनमा समर्पित शिक्षक प्रकाश देव पछिल्ला वर्षरूमा रुकुममा शिक्षाप्रतिको चेतना निकै उत्साहजनक ढङ्गले बढेको बताउनुहुन्छ । यहाँका विद्यालयहरूमा छात्राहरूको संलग्नता पनि उत्साहजनक देखिन्छ । तर अझै पनि किताब, कापी, कलम र खेलौना हुनुपर्ने कतिपय कलिला हातहरू जुठा भाँडा माझ्न, गिट्टी कुट्न र भारी बोक्न बाध्य भइरहेका अप्रिय दृश्य यत्रतत्र देखिन्छन् ।

विकट पहाडी जिल्ला भए पनि रुकुमको सदरमुकाममा पानी पर्याप्त उपलब्ध हुनु निकै सुखद पक्ष हो । पानीको अभावको तीतो अनुभव भोगिरहेका देशका अन्य जिल्लाका बासिन्दालाई लोभै लाग्ने गरी यहाँ प्राकृतिक स्रोतबाट प्राप्त पानी बगिरहेको छ । तर पानीको सङ्कलन र व्यवस्थित वितरणमा भने ध्यान पुर्‍याउन हतार भइसकेको छ । रुकुमका जनताको आयआर्जनमा तरकारीखेती र तरकारी बीउ उत्पादनको ठूलो भूमिका छ । सानी भेरीको दायाँबायाँ त्यस नदीद्वारा सिंचित गहुँखेती र तरकारीखेतीका रहरलाग्दा हरिया फाँट देखिन्छन् । विगतमा मुलुकको तरकारी बीउको कुल मागको ३० प्रतिशत आपर्ूर्ति गर्न सक्षम रुकुम अहिले त्यसमा ह्रास आएर १३ प्रतिशत आपूर्तिमा झरेको छ । बीउमा मिसावट, गुणस्तरमा ह्रास, किसानमा प्राविधिक ज्ञानको अभाव आदि कारणले यो ह्रास आएको स्थानीय बासिन्दा बताउँछन् । तरकारी पकेट क्षेत्रलाई पुनर्जीवन दिन अविलम्ब प्रभावकारी कदम चाल्नु आवश्यक छ भने पसिना चुहाएर तरकारी र बीउ उत्पादन गर्ने किसानभन्दा त्यो उत्पादन बिक्री गर्ने ठेकेदारहरू बढी लाभान्वित भइरहेको स्थिति कम चिन्ताजनक छैन ।


रुकुममा पर्यटन प्रवर्द्धनको सम्भावना छ तर त्यसका लागि कुनै ठोस पहल भएको पाइदैन । नेपालको विकट पहाडी जनजीवन र संस्कृत्रि्रति विदेशी पर्यटकहरूको चासो रहने भएकाले रुकुममा पनि पर्यटकलाई आकषिर्त गर्न नसकिने होइन । यहाँको सिस्ने हिमाल, स्यार्पु ताल, कमल ताल, डिंग्रे भगवती मन्दिर स्वदेशी, विदेशी दुवै पर्यटकका लागि आकर्षणका बिषय बन्न सक्दछन् ।
रुकुम छोटो दूरीको देखि लामो दुरीको समेत पदयात्राका लागि उपयुक्त स्थान हो । सदरमुकमबाट करिब डेढ घण्टाको पदयात्रामा डिंग्रे भगवती मन्दिर पुग्न सकिन्छ भने करिब तीन घण्टाको पदयात्रामा रमणीय स्यार्पु ताल पुगिन्छ । तीन दिनको पदयात्राबाट रुकुमको सदरमुकाम खलङ्गादेखि डोल्पाको सदरमुकाम दुनै पुग्न सकिन्छ भने रुकुमबाट ढोरपाटन शिकार आरक्ष हुँदै बागलुङ निस्कन पनि सकिन्छ । पर्यटन गतिविधिका दृष्टिले अहिलेसम्म अक्षत भूमि (भर्जिन ल्याण्ड) को रूपमा रहेको यस रुकुमलाई योजनाबद्ध ढङ्गले पूर्वाधारको विकास गरी पर्यटन प्रवर्द्धन गर्न सकिएमा आर्थिक कायापलट गर्ने रुकुमेलीका सपना साकार गराउन सकिन्छ । रुकुममा प्रष्ट देखिएको अर्को सकारात्मक परिवर्तन हो- पत्रकारिता र आमसञ्चार गतिविधि । जनयुद्ध जारी रहेको १० वर्ष रुकुममा पत्रकारिता निकै जोखिमपूण्ा रहे पनि जनयुद्धपछि भने यहाँ पत्रकारिताको गतिविधि उत्साहजनक ढङ्गले वृद्धि भइरहेको छ । रुकुम जिल्लाको पत्रकारितामा मुसिकोटबाट गत पाँच वर्षेखि प्रकाशित भइरहेको 'जन्तीधारा' साप्ताहिकको उल्लेख्य योगदान छ । यसले यहाँका स्थानीय युवाहरूलाई पत्रकार बनाउनमा भूमिका खेलेको छ । तर आर्थिक रूपमा अझै धेरै कठिनाई भोग्नु परिरहेको यसका सम्पादक प्रकाशक नारायणकुमार शाह बताउनुहुन्छ । 


खलङ्गाबाट सोझै देखिने डाँग्री चौरको डाँडोमा रहेको रेडियो सानीभेरी यस भेगको लोकप्रिय एफएम प्रसारण हो भने त्यसकै नजिक रहेको रेडियो सल्ले प्रसारण तयारीको करिब अन्तिम चरणमा पुगेको छ । यसैगरी प्रकाशनको अन्तिम चरणमा पुगेको छ अर्को साप्ताहिक 'राष्ट्रिय नयाँ यात्रा' । स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय आमसञ्चार माध्यममा समेत गरी करिब पचास जनाको हाराहारीमा रुकुमेली युवाहरू यहाँ पत्रकारितामा क्रियाशील छन् । ती मध्ये करिब दस प्रतिशत महिला पत्रकार छन् ।

मुलुकमा शान्ति प्रक्रिया प्रारम्भ भएपछि विकासका सम्भावनाहरूलाई पछ्याउँदै दर्जनौं गैरसरकारी संस्था रुकुममा आएका छन् । अन्तरराष्ट्रिय दातृसंस्थाहरूका गतिविधि पनि कम छैनन् । तर सदियौंदेखि शोषण र उत्पीडनमा पिल्सिएका र दस वर्षम्म द्वन्द्वको चपेटामा परेका निमुखा रुकुमेली जनताका नाममा आएका सरकारी, गैरसरकारी रकममा पनि लाजमर्दोस्तरमा भ्रष्टाचार र अनियमितता भइरहेको भनी चिन्ता व्यक्त गर्दछन् यहाँका सक्रिय पत्रकार गणेश चिन्तन । 

प्रचुर सम्भावना र चुनौतीसमेत बोकेर बसेको रुकुमले राज्यस्तरबाटै योजनाबद्ध विकासको अभियान थालियोस् भन्ने आकाँक्षा लिइरहेको छ । यसका लागि रुकुम, रोल्पा, जाजरकोट, सल्यान आदि आपसमा आबद्ध जिल्लाहरूलाई समेत समेटेर बहुआयामिक एकीकृत योजना तथा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकेमा महान राजनीतिक परिवर्तनको उद्गम थलो महान आर्थिक रूपान्तरणको पनि उर्वर भूमि बन्न जानेछ ।


स्रोत : रासस

No comments: