कमल थापा/रुकुम
जुनकुमारी रोकालाई जीवनमा सभासद् भइएला र सुटकोट पहिरिएला भन्ने कल्पनासम्म पनि थिएन । रुकुमको काक्री गाविस लुकुममा जन्मेकी यी साधारण महिलाले कसरी त्यस्तो 'असम्भव' सपना देखून् ? तर, नदेखेको सपना सम्भव भइदियो । राज्यको तत्कालीन दमनद्वारा अनेक हैरानी नबेहोरेको भए सायद उनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संविधानसभा हलको सट्टा भेडी गोठतिरै रमाउँथिन् होला । जुनकुमारीका आमा-बुवाले पढ्न पाएनन् । दाजु र दिदीले प्राथमिक तहमै पढाइ छाडेकाले घरमा शैक्षिक वातावरण थिएन । कान्छी छोरीलाई पढाउने र 'ठूलोमान्छे' बनाउने आमा जानी रोकाको चाहनाले उनले गाउँकै विद्यालयबाट हाइस्कुल पास गरिन् । 'पढ्नुपर्दा यातना दिएजस्तो महसुस हुन्थ्यो,' पछुतोपूर्ण हाँसो हाँस्दै उनले अतीत सम्भिmन्, 'आमाले धेरै पढाएर ठूलोमान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो । ठूलोमान्छे भनेको सायद यही नयाँ संविधान लेख्ने अवसर पो रहेछ कि ?' गाउँमा पढ्ने, लेख्ने चलन कमै थियो । झन् छोरीहरू त औँलामा गन्न भ्याइने । सबैले घरबार सम्हाल्नुपर्ने । छोराहरू अक्षर चिनेर लाहुरे वा विदेश जाने चलन थियो । छोरीहरू त घाँसपात र भेडीगोठतिर,' उनले गाउँको चालचनल बताइन्, 'हाम्रो घरमा धेरै भेडा थिए, गाई पनि । भेडा चराउन धेरै ठाउँ घुम्नुपथ्र्याे । आमाबुवा भेडा चराउँदै प्युठान पुगेका वेला म त्यहीँ जन्मेकी रे । त्यसपछिका वर्षहरूमा म बुवासँगै कहिले भेडा चराउन जान्थँे, कहिले गाईगोठ ।' गोठाले दिन सम्झेर हाँस्दै भनिन्, 'दाइले बीचैमा पढाइ छाडेर लाहुरे बन्नुभयो । आफूले पढ्न नपाएकाले होला दाइले मलाई पढ्नुपर्छ भनेर भेडा चराउन छाडेर विद्यालय जान लगाउनुभयो ।'
***
जुनकुमारीको राजनीतिक यात्रा रोचक, तर पीडादायी छ । विकट गाउँकी एक सोझी महिला जनयुद्धजस्तो जोखिमपूर्ण लाभामा कसरी पाइला टेक्न पुगिन् ? कारण उनले यसरी बताइन्, '०४६ सालको जनआन्दोलनपश्चात् गाउँमा एकप्रकारको उत्साह आयो । तर, पञ्चायती व्यवस्थाको अवशेष बाँकी नै थियो । केही व्यक्तिले प्रहरी प्रशासनको दुरुपयोग गरेर विभिन्न बहानामा दुःख दिन छाडेनन् । ०५० सालतिर गाउँका केही सामन्तले एउटा गाई मारेछन् । त्यतिवेला गाई मार्नु कानुनतः दण्डनीय मानिन्थ्यो । योजनाबद्ध रूपमा गाई मारेको अभियोगमा गाउँभरिका युवालाई दुःख दिइयो । गौहत्या मुद्दा चलाइयो । त्यतिवेलाका जनमोर्चा समर्थकले अनेक यातना र सास्ती बेहोर्नुपर्यो । कुनै व्यक्ति बाँकी रहेनन् । ज्यानमारा, गौमारा, सार्वजनिक सेवा-सुविधामाथि क्षति पुर्याएको निहँुमा धेरै निर्दोषले दुःख पाए । त्यसमध्ये म पनि एक हुँ । गाई मारेको झूटो आरोप लागेपछि मैले तीन महिना पढाइ छाड्नुपर्यो र घर पनि । त्यहीवेला म विद्यार्थी संगठनमा रहेर काम गरिरहेकी थिएँ ।'
जुनकुमारीले भन्दै गइन्, 'राज्यले विभिन्न बहानामा पछि पनि कुनै न कुनै अभियोग लगाएर दुःख दिइरहयो । गाउँका केही व्यक्तिको उक्साहटमा प्रहरीले मेरो दाइमाथि ज्यान मुद्दा चलायो । दाइलाई गिरपतार गर्न प्रहरी आउँदा प्रहरी र आमाबीच झगडा भयो । अनि प्रहरीले झन्झन् निगरानी राख्ने र दुःख दिन थाल्यो । यस्तै, पारिवारिक तनावले मलाई जानी-नजानी राजनीतिमा लाग्ने अवसर मिलेको हो ।'
जुनकुमारीले राजनीति गरेकोमा परिवार सन्तुष्ट थिएन । राजनीतिको कठिन जीवन नरोज्न परिवारबाट उनलाई दबाब आइरहन्थ्यो । पञ्चायती व्यवस्थाले दिएको दुःख र पीडाको बदला लिन आमाले भने उनलाई राजनीतिबाट रोकिनन् । उनको विवाहलाई पनि परिवारले रुचाएन । संगठनमा लागेपछि तेजप्रकाश ओली 'प्रतीक' सँग उनको सांगठानिक विवाह भएको थियो । उनका श्रीमान् जनमुक्ति सेना डिभिजन कमान्डर छन् । 'हाम्रो विवाह अन्तरजातीय हो,' उनले भनिन्, 'त्यसैकारण पनि परिवारले मन पराएको थिएन ।' सामान्यतः विवाह नयाँ जीवनको सुरुवात मानिन्छ र महिला घरगृहस्थीको थालनी गर्छन् । जुनकुमारीको वैवाहिक जीवनले भने फरक मोड लियो । कोमल र भावनात्मक दाम्पत्य जीवनले निर्मम यात्राको सुरुवात गर्यो ।
'विवाहलगत्तै म प्रहरीको फन्दामा परेँ,' जुनकुमारीले विवाहपश्चात्को यात्रा बेलिविस्तार लगाइन्, 'मलगायत सात/आठजना महिलालाई पक्रेर रुकुमकोटको प्रहरी हिरासतमा राखियो । त्यतिवेला मेरो गर्भमा चार महिनाकी छोरी हुर्किँदै थिई । यो २८ माघ ०५३ को घटना हो । पार्टीले १ फागुनलाई जनयुद्ध दिवसका रूपमा मनाउने तयारी गरेको थियो । त्यसैवेला हामी गिरप\mतार भयौँ । बाहिर पार्टीले प्रहरीचौकीको वरिपरि बमबारुद पड्काउने, नाराजुलुससहित मसाल बाल्ने योजना बनाएको रहेछ । पार्टीको त्यो योजना प्रहरीले थाहा पाएछ र त्यही मौकामा हामीलाई मारेर दोहोरो भिडन्तमा परेको भनेर मुचुल्का उठाउने भित्री योजना बनाएको रहेछ । यो कुरा पार्टीले थाहा पाएपछि मसाल बाल्ने र नाराबाजी गर्ने कार्यक्रम स्थगित गरेछ । त्यतिवेला हामीलाई सात दिनसम्म हिरासतमा राखेर चरम यातना दिइयो । हामीबाट कुनै प्रमाण फेला नपारेपछि अन्ततः हामी मुक्त भयाँै ।'
**
हिरासतबाट निस्केपछि उनी रुकुमको पूर्वी भेगलाई कार्यक्षेत्र बनाएर पार्टी काम गर्न थालिन् । त्यसपछि पार्टीले उनलाई सरुवा गर्यो । त्यतिवेला छोरी भर्खर जन्मेकी थिइन् । उनी सरुवा भएर सल्यान, दाङ हुँदै प्युठान पुगिन् । नयाँ ठाउँमा भर्खर जन्मेकी छोरी काखी च्यापेर उनी पार्टी काममा घुमिरहन्थिन् । केही समयपछि नै उनी कणर्ाली सरुवा भइन् । एक वर्षकी छोरी च्यापेर कणर्ाली हान्निएकी जुनकुमारीले वर्ष दिनमा तीन सय महिलालाई पूर्णकालीन कार्यकर्ता बनाउन सफल भइन् । कणर्ालीका तीन जिल्ला मुगु, कालीकोट र जुम्ला हेर्थिन् उनले ।
पश्चिमतिर माओवादीमाथि तत्कालीन राज्यको दमन तीव्र थियो । काम गर्न निकै गाह्रो । सुरुमा उनलाई लडाइँमा श्रीमान् गुमाएकी महिला भन्ठान्थे सबैले । तर, उनका श्रीमान् पनि लडाइँकै मोर्चामा थिए । नौलो ठाउँ, भौगोलिक विकटता, कमजोर संगठन, राज्यको दमन र काखमा अबोध छोरी । यी सबै चुनौती उनीसामु अजंगका पहाडझैँ उभिएका थिए । सबै चुनौतीलाई सहज ठानी उनले आठ वर्ष त्यसरी नै बिताइन् । पछि, उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य चुनिइन् । कणर्ाली कार्यक्षेत्रपश्चात् उनको जनमुक्ति सेनामा सरुवा भयो । 'जनमुक्ति सेना बि्रगेड कमिसार भएर केही समय काम गरेँ,' उनले भनिन्, 'शान्तिसम्झौतापछि सेना शिविरमा बस्यो, मलाई भने सेनाको शिविरबाट फेरि बाहिर आउने निर्णय गरियो । त्यसपछि म शिविरबाट निस्केर मुगु वाइसिएल संयोजक भएर काम गरँे । पछि, सुर्खेतमा पनि काम गरेँ ।'
संविधानसभा निर्वाचनमा उनलाई रुकुम जिल्लाले समानुपातिक निर्वाचन प्रणालीमा सिफारिस गरेछ । पछि, हेरफेर गरेर प्रत्यक्ष निर्वाचनमा रुकुम क्षेत्र नं. २ को उम्मेदवार बनायो । र, उनी विजयी भइन् । चुनाव हुने पक्का भएपछि उनी चुनावी अभियानमै खटिन थालिन् । त्यतिखेरै आमा बितिन् । 'चुनाव प्रचारमा मनस्थिति कमजोर हुन्छ भनेर कसैले पनि मलाई थाहै दिएनन्,' उनले भनिन्, 'चार दिनपछि मात्र दिदीले आमा बित्नुभएको जानकारी दिनुभयो । पीर नगरी प्रचारमै लाग्न भन्नुभयो । म दुःखी भएँ । मैले राजनीतिको कठोर बाटो रोजेको देखेर आमा दुःखी हुनुहुन्थ्यो । तर, त्यही राजनीतिको उपलब्धि र मेरो प्रगति देख्न चाहने आमाको सपना पूरा हुनैलाग्दा आमा रहनुभएन ।'
***
बच्चादेखि किशोरी हुन्जेल जुनकुमारी भेडा गोठालाकी छोरी र भेडा गोठाल्नी मात्रै थिइन् । किशोरवयदेखि उनी राजनीतिक कार्यकर्ता भइन् । अहिले निर्वाचित जनप्रतिनिधि भएर संविधान लेख्ने ठाउँ पुगेकी छिन् । 'अहिले बढी उत्तरदायित्व बोध भएको छ,' उनले भनिन्, 'संविधानसभामा अल्पसंख्यक र सीमान्तकृत जातिको अधिकार संरक्षण समितिको सदस्य छु । हाम्रो समितिले आपनो प्रतिवेदन पनि बुझाइसकेको छ । व्यवस्थापिका संसद्मा म लेखा समितिमा रहेर काम गरिरहेकी छु ।' सभासद् जुनकुमारी रोकाले यसरी आप\mनो भेडीगोठदेखि संविधानसभासम्मको इतिवृत्तान्त अन्त्य गरिन् ।
साभारः नयाँपत्रिका
No comments:
Post a Comment